प्रधानमन्त्रीको सन्देश लिएर शंकर पोखरेल प्रचण्ड निवास खुमलटार

२२ कात्तिक, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार गएका छन् । पोखरेल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भेटवार्तामा सक्रिय रहँदै आएका छन् ।

मंगलबार विहान खुमलटार पुुगेका पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग आग्रह गरेका थिए । तर, प्रचण्डले भने सचिवालय बैठक बसेपछि मात्रै समस्या समाधानबारे छलफल हुने बताएका उनीनिकट स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको समस्याबारे सचिवालय समितिमै छलफल गर्नुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले भने पहिले दुई अध्यक्षबीच सहमति जुटाएर एजेण्डा तय नगरी बैठक आवश्यक नरहेको धारणा राख्दै आएका छन् ।

प्रचण्ड सहित सचिवालयका पाँच नेताले तत्काल सचिवालय बैठक बोलाउन सहमति दिन भन्दै कात्तिक २२ मा दुई पन्ने लिखित पत्र बुझाएका छन् । तर, प्रधानमन्त्री ओलीले भने विधान बमोजिम बैठक बोलाउने सन्देश महासचिव विष्णुप्रसाद पौडेल मार्फत सोमबार प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्रीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेका थिए ।

प्रचण्डले भने प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत नभए कार्यकारी अध्यक्षको हैसियतले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । प्रचण्डले छुट्टै बैठक बोलाए पार्टी विभाजन गर्ने प्रधानमन्त्रीले चेतावनी दिएका छन् । तर, प्रधानमन्त्री निकटका नेताहरु भने यो अवस्था आउन नदिन सक्रिय बनेका छन् ।

प्रधानमन्त्री निकट महासचिव पौडेल, लुम्बिनीका मुख्यमन्त्री पोखरेल, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत दिनहुँ छलफल गरिरहेका छन् । यी नेताहरुले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई भेटवार्ता गर्दै आएका छन् ।