कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन

२५ कात्तिक, काठमाण्डौ । सरकारले कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको छ ।

अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन भएको हो ।

यो समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्नेछ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त समिति गठन गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए ।

‘यो समितिलाई कोरोनाको भ्याक्सिन कहाँ बनेको छ खोज्ने र छिटो माध्यमबाट कसरी नेपाल ल्याउन सकिन्छ भन्ने प्रक्रियासमेत मिलाउने गरी जिम्मेवारी दिइएको छ,’ ती मन्त्रीले भने ।

खोप समयमै ल्याउन स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने पनि सरकारको भनाइ छ ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय पनि भएको छ ।

सरकारले कोरोना परीक्षण र उपचार पनि निःशुल्क गर्ने भएको छ ।

सर्वोच्चले सरकारलाई आदेश दिँदै उपचार र परीक्षण निःशुल्क गर्न भनेको थियो ।

सरकारले गत कात्तिक २ देखि कोरोना परीक्षण र उपचार खर्च विपन्नबाहेक अरू आफैंले ब्यहोर्नुपर्ने निर्णय गरेपछि सरकारको आलोचना भएको थियो ।