नयाँ पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने र मरिहत्ते गर्न नहुने : प्रधानमन्त्री

’३२,३३ वर्ष अध्यक्ष भएको व्यक्तिलाई फेरि रहर पलाएको देख्दा अचम्म लाग्छ । नयाँ पुस्तालाई दिऊँ भनेको हो । त्यो पुस्तालाई जिम्मा लगाउन हामी किन तयार हुदैँनौ ?,

२३ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्न जरूरी नभएको बताएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्यहरू अनौपचारिक बैठक बसेको र सचिवालय बैठक राख्न आफूलाई लिखित पत्र दिएको सन्दर्भमा प्रधानमन्त्रीले नेताहरूलाई गुटबन्दी नगर्न भनेका छन् ।

पार्टीभित्र संकट देखा परे पनि त्यो फुटसम्म नपुग्ने संकेत प्रधानमन्त्रीले गरेका छन् ।

‘’दुई अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने हो । एजेण्डा तय गरेर बैठक बस्ने हो । केही मान्छे भेला भएर बसेर झुटा निश्कर्ष निकाल्नु र पार्टीलाई समस्यामा पार्नु गलत हो,’ एपीवान टिभीमा पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यसो भनेका छन् ।

प्रधानमन्त्री ओलीले गुटबन्दीले पार्टीलाई सखाप पार्नेसमेत बताए । ‘गुटबन्दीले पार्टीलाई सखाप पार्छ । ध्रुम्बाराहीमा बसेको बैठक गुटगट हो । यस्तो गर्नु गलत हो,’ उनले भने ।

पार्टी नफुट्ने भन्दै फुट्नबाट जोगाउन आफू सक्रिय रहेको बताएका थिए । ओलीले पार्टी फुटाउँदैछ भनेर आफूमाथि गलत आरोप लगाइने गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

आफूले स्वतन्त्र रूपमा सरकार चलाउन नपाएको गुनासो पनि प्रधानमन्त्रीको छ । पार्टीकै नेताहरूका कारण सरकार सञ्चालन चाहेजसरी गर्न नपाएको उनले बताए ।

‘मैले संयुक्त सरकार जसरी चलाएको छु । म आफ्ना मान्छेको पक्षमा मरिमेटने मान्छे होइन । मेरो आफ्नो भन्ने केही छैन,’ उनले भने, ’मैले विभिन्न खालका मान्छे लिनै परेको छ । मैले चाहेको जस्तो भएको छैन । यो सबै पार्टी एकताका लागि गरेको हो ।’

उनले कथा सुनाउँदै पार्टीको आमा आफू भएको पनि दाबी गरेका थिए । नक्कली आमालाई बच्चाको माया नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

यसबीच उनले ३० औं वर्ष अध्यक्ष भइसकेका र पटकपटक प्रधानमन्त्री भइसकेका पार्टीभित्रका नेताले फेरि मरिहत्ते गरेकोमा असन्तुष्टि पनि जनाए ।

अर्का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले अब नयाँ पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने र मरिहत्ते गर्न नहुने बताएका थिए ।

’३२,३३ वर्ष अध्यक्ष भएको व्यक्तिलाई फेरि रहर पलाएको देख्दा अचम्म लाग्छ । नयाँ पुस्तालाई दिऊँ भनेको हो । त्यो पुस्तालाई जिम्मा लगाउन हामी किन तयार हुदैँनौ ?,’उनले प्रश्न गरे, ‘हामी किन मलाई चाहियो, मेरो भाग पुगेन मात्रै भन्छौ । महाधिवेशनसम्म हामी ७० कट्छौ । ७० कटेकाले अब ओगटनु पर्छ भन्ने छैन ।’

पार्टीभित्र भएको गुटगत बैठकले गलत सन्देश गएको भन्दै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषदको पुनर्गठनको संभावना नरहेको पनि बताए ।

आधाआधा कार्यकालको विषय प्रचण्डलेनै छोडेको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपालको भूमि फिर्ता आउने होकी भनेर पार्टीका नेता आलोचनामा उत्रिएको उनको बुझाइ छ । रअ प्रमुख सामन्त गोयलसँग भएको भेटबारे परराष्ट्रमा रेकर्ड राखिएको प्रधानमन्त्रीले दाबी गरेका थिए ।

प्रधानमन्त्री ओलीले पार्टी गर्न आफूले नभनेको पनि बताएका थिए । सचिवालय सदस्यहरूले भन्दैमा जतिबेला पनि बैठक नबस्ने उनको भनाइ रहेको थियो ।