नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू

२१ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू भएको
छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

९ सदस्यीय सचिवालयका ४ जना भने गएका छैनन् । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् सचिवलाय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने सहभागी छैनन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक बैठकका लागि सचिवालयका ९ जनालाई नै बैठकमा बोलाइएको बताएका थिए ।

सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई खबर पुगे पनि मन्त्रालयको काम व्यस्तताले उनी नगएको बताइएको छ ।

अर्थमन्त्री समेत रहेका महासचिव बिष्णु पौडेलको पनि अर्थ मन्त्रालयमा बैठक रहेकाले उनी सहभागी नभएको बताइएको छ ।