नेपालमा व्यापार गर्न चाहिने सबै एकद्धारा सूचना प्रणालीमा समेटिनु पर्ने

२१ कात्तिक, काठमाडौं । व्यापार सहजीकरणको लागि सरकारले बनाएको इन्टरनेटमा आधारित एकल बिन्दूको काम ९५ प्रतिशत सकिएको छ । गत वर्ष सफ्ट लन्च गरेको उक्त केन्द्रले केही समय भित्रैपूर्ण रुपमा काम सुरु गर्ने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

सबै नयाँ तथ्याङ्क र विवरणसहितको सूचना केन्द्र निर्माण भइसकेको केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले बताए ।

‘सूचना पोर्टलको ९५ प्रतिशत काम सकिएको छ । सुरक्षा अडिट रिपोर्ट पनि पाएका छौँ, केही समयमै पूर्ण सेवा सुरु हुन्छ,’ कार्यकारी निर्देशक राणाले भने ।

नेपाल ट्रेड पोर्टल डट जीओभी इन्टरनेट ठेगानामा गत वर्ष मन्त्रालयले उक्त एकद्वार सूचना केन्द्रको सुरुआत गरेको थियो ।

स्वदेशमा उत्पादीत वस्तुको अन्तर्राष्ट्रिय बजार तथा विदेशमा उत्पादित वस्तुको नेपालमा व्यापार गर्न चाहिने सबै सूचना उक्त प्रणालीमा समेटिएको केन्द्रका निर्देशक राणा बताउँछन् ।

‘मुस्ताङमा स्याउ फलाउने किसान र उनको स्याउको गुणस्तरबारे सम्पूर्ण विवरण हाम्रो पोर्टल मार्फत क्यानडाको स्याउ आयातकर्ताले जान्न सक्नेछन्,’ राणाले भने ।

यस्तै नेपालमा कुन वस्तु कस्ले आयात गर्छ, नेपालबाट कुन–कुन वस्तु, कुन–कुन मुलुकमा निर्यात हुन्छ भन्ने जानकारी पनि एकीकृत विन्डोमा समावेश गरिएको छ ।

नेपालसँग वयपार सम्झौता भएका मुलुक, आयात तथा निर्यातका लागि सहुलियत तथा कानुनी उपाय, धेरै मात्रामा आयात तथा निर्यात भएका वस्तुहरुको विवरण पनि पोर्टलमा खुलाइएको छ ।

कुनै पनि मुलुकबाट आयात व्यावसाय गर्ने व्यापारी, वस्तु उत्पादन गर्ने कृषक तथा उद्योग लगायतको सम्पूर्ण विवरणसहितको प्रोफाइल पनि उक्त पोर्टलमा समावेश गरीएको छ ।

सरकारले निशुल्क उपलब्ध गराएको उक्त प्लेटर्फममा प्रोफाइल अपलोड गर्ने व्यवसायी र उद्योगीहरुको संख्या भने उल्लेख्य हुन नसकेको केन्द्रले जनाएको छ ।

कोभिडका कारण उद्योगी व्यवसायीलाई यसमा सहभागी गराउने कार्यसमेत गर्न नसकिएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।