बैंक अफ काठमाण्डु र हिमालयन बैंकको फसेको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता

२१ कात्तिक, काठमाडौं । बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकको काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका छन् ।

दुवै बैंकको रकम चाइना कन्स्ट्रक्सन बैंकले फिर्ता गर्नुपर्नेगरी हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट कोर्टले आदेश दिएको
हो ।

बैंकका पक्षमा फैसला आएसँगै रकम फिर्ता पठाउनका लागि आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरिने बैंक अफ काठमाण्डुका सिइओ शोभनदेव पन्तले जानकारी दिए ।

‘आजै हामीले अदालतको फैसला पायौं, नेपाली दुवै बैंकको पक्षमा फैसला आएको छ, पैसा फिर्ताका लागि हामीले आजै पत्राचार गर्नेछौँ’ पन्तले सेतोपाटीसँग भने ।

यसअघि मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत नेपालमा हिमालयन तथा बिओकेबाट ग्यारेन्टी रकम प्राप्त गरेको थियो ।

बीचमा ठेकेदार कम्पनीले काम छोडेपछि नेपाली बैंकहरुले कम्पनीलाई प्रदान गरिसकेको रकम निश्क्रिय रहँदै आएको थियो ।

पन्तका अनुसार बिओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर (७८ करोड ८३ लाख) को ग्यारेन्टी रकम प्रदान गरेको
थियो ।

त्यस्तै हिमालयन बैंकको करिब ६२ करोड रुपैयाँ फसेको थियो । मेलम्चीको काम छाडेपछि ठेकेदार कम्पनीले नेपालका बैंकहरुले फ्रड गरेको भन्दै यहीं झेङझाओ कोर्टमा निवेदन दिएको थियो ।

त्यसपछि सो अदालतले निवेदककै पक्षमा निर्णय गरेको थियो । पछि नेपालका बैंकहरु उच्च अदालत गएका थिए ।

उच्च अदालतले तल्लो अदालतलाई अन्तर्राष्ट्रिय बैंकिङ पद्धति र चिनीयाँ कानुनअनुरुप नदेखिएको भन्दै निर्णयमाथि पुर्नविचार गर्न आदेश दिएको थियो ।

अगष्टमा यसको सुनुवाई भएको पन्तले बताए । अब अदालतको आदेशविपरित हारेको कम्पनी उच्च अदालत जान सक्नेछ ।

तर उच्च अदालतले नै यसअघि तल्लो अदालतलाई पुनर्विचार गर्न आग्रह गरेकाले अब रकम प्राप्त हुने विश्वास लिइएको पन्तले बताए ।