कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर मृत्य

१९ कात्तिक, काठमाण्डौ । कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर बुधबार मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर ३ सखुवा भन्ने स्थानमा साँझ ५ बजे सुख्खा पहिरो खसेको हो ।

सडक खन्ने क्रममा खसेको सुख्खा पहिरोमा परी उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

सडक निर्माणका क्रममा ७ जना मजदुरहरूले जालीमा ढुंगा भर्दै थिए । अकस्मात खसेको पहिरोमा परेका अन्य २ जनालाई भने प्रहरी र स्थानीयले उद्धार गरे पनि ५ जना पहिरोमा परेको तामाङले बताए। पूर्वी नवलपरासीको गैंडाकोटदेखी पाल्पाको राम्दीसम्म १ सय ३० किलोमिटर. सडक निर्माण हुँदैछ ।

पहिरोमा परी मृत्यु हुने सबै बुलिङटार वडा नम्बर ४ का रहेका छन् । मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेको प्रहरीले जनाएको छ ।