अब म सर्वोच्व अदालत जान्छु

डोनाल्ड ट्रम्प

१९ कात्तिक, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहेको राष्ट्रपतीय चुनावका विषयमा आफू सर्वोच्च अदालत जाने बताएका छन् ।

ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अहिले पनि केहीले भोट हालिरहेको आरोप लगाउँदै आफू सर्वोच्च अदालत जान लागेको बताएका हुन् ।

‘हामी अमेरिकाको सर्वोच्च अदालत जाँदैछौं । सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं। बिहान ४ बजेपछि उनीहरूले कुनै पनि मतपत्र फेला पारेर जोडून् भन्ने हामी चाहन्नौं,’ उनले भने ।

उनले त्यसो गर्ने अमेरिकी जनतामाथिको धोका र देशप्रतिको अपमान भएको बताएका छन् ।

‘हामीले चुनाव जित्नै लागेका थियौं। खासमा भन्दा हामीले चुनाव जितिसकेका थियौं । त्यसैले अब हाम्रो लक्ष्य इमानदारीलाई जोगाउनु हो,’ उनले भने ।

ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाए पनि अहिलेसम्म त्यस्तो कुनै घटना सार्वजनिक भएको छैन ।

चुनावको अन्तिम मत परिणाम पनि आउन अझै बाँकी छ। ट्रम्प र डेमोक्र्याटिक उम्मेद्वारबीच अहिले पनि कडा टक्कर छ भने पेन्सिलभेनियालगायत केही ठूला राज्यमा मतगणना भइरहेको छ ।

यसअघि समर्थकहरूलाई सम्बोधन गर्दै बाइडेनले पनि आफू चुनाव जित्ने बाटोमा रहेको दाबी गरेको बताएका थिए ।

दुबै उम्मेदवारले आफूले जित्ने दाबी गरे पनि लाखौं मतदाताले हुलाकबाट मत हालेका अन्तिम मत परिणाम आउन अझै केही समय लाग्न सक्छ ।