आज दुई अध्यक्षबीच भेटवार्ता हुने फुटको औचित्य पुष्टि हुने विवाद पार्टीभित्र नरेहकाले सहमतितिर फर्किने विश्वास

१९ कात्तिक, काठमाण्डौ । विगत केही दिनअघि देखि सत्तारुढ नेकपामा चुलिदै आएको विवादले पार्टी फुटको संघारमा नै पुगेको बेला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटघाट हुन सकेको छैन ।

शनिबार १२ दिनपछि भएको भेटमा दुई अध्यक्षबीच विवाद बढेपछि भेट हुन नसकेको हो । दुई अध्यक्षबीच आइतबार टेलिफोन कुराकानी भएको थियो ।

आइतबार भएको टेलिफोन कुराकानी समेत सकारात्मक हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले पार्टी अलग बनाएर जान भनेको भन्दै प्रचण्डले आइतबार आफूसहित ६ जना सचिवालय सदस्यको भेला नै गरेका थिए । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा सहभागी थिए । छलफलमा सचिवालय बैठकका लागि पहल गर्ने सहमति पनि भएको थियो ।

सोमबार र मंगलबार दुवै पक्षले आ-आफ्ना तरिकाले छलफलहरू गरेका छन् ।

दुवै पक्ष आफ्नै धूनमा रहेको प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले बताएका छन् ।

सबै आ-आफ्ना धूनमा छन् । अलग-अलग बाँसुरी बजाउनुभएको छ । एकै ठाउँमा बसेर बजाउनुभएको छैन,’ ती स्थायी कमिटी सदस्यले भने, ’त्यस्तो ठ्याक्कै केही देखिएको छैन । हेरौं न कसरी जान्छ ।’

अहिलेको मुख्य झगडा नै कसको सिफारिसमा कति मन्त्री बनाउने भन्ने रहेको प्रचण्ड(नेपाल खेमाका एक स्थायी कमिटी सदस्यले बताए ।

’अहिलेको मुख्य झगडा कसको सिफारिसमा मन्त्री बनाउने भन्ने नै हो। कसका मान्छे कति बनाउने र कसले सिफारिस गर्ने भन्ने हो,’ उनले भने, ’अहिलेको झगडामा राजनीतिक विषय नै भएन । प्रचण्डको भनाइ माओवादी कोटाभित्रका मन्त्रीहरू प्रधानमन्त्रीले छान्न खोज्नुभयो भन्ने हो । सायद यही विषयमा कुरा नमिलेको होला ।’

उनका अनुसार पार्टीभित्रको अन्तरविरोध भने विगतमा भन्दा धेरै गहिरिएको छ ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले दुई अध्यक्षको भेटका लागि प्रयास भइरहेको बताए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार नयाँ केही नभए पनि बुधबार दुई अध्यक्षको भेट्ने तयारी रहेको बताए ।

स्थायी समिति सदस्य गोकर्ण विष्टले भने नेताहरूको लडाइँले जनताको अजेन्डा ओझेलमा परेको बताए ।

’केमा लडाइँ भयो, भयो । विभाजनले कसैलाई फाइदा छैन । त्यसैले विभाजनको बाटोमा जान्छ जस्तो लाग्दैन,’ उनले भने, ’अलिअलि मान्छे यताउता लागे पनि पलायन हुनेको संख्या ठूलो हुन्छ । त्यो नेताहरूले बुझेका छन् ।’

अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले प्रधानमन्त्रीले स्थायी कमिटी बैठकको निर्णय नमान्दा अहिलेको समस्या आएको बताए ।

’पार्टी अध्यक्षले नै पार्टी निर्णय नमानेपछि कसरी हुन्छ ? स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्नुपर्ने व्यक्तिले निर्णय नै मान्दिनँ भन्नुभएको छ,’ उनले भने, ’प्रदेशहरू संघका प्रशासनिक इकाइ हुन् भनेर हस्तक्षेप गर्न खोज्नुभएको छ । त्यसले पनि अहिलेको समस्या आएको हो । यसका लागि स्थायी कमिटी बैठक बस्न जरुरी छ ।’

कृषि मन्त्री समेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पनि बैठकमा जोड दिनुपर्ने बताए । बैठकका निर्णय कार्यान्वयन गर्न समस्या भएकाले त्यसको समाधान पनि बैठकले नै दिनसक्ने उनको भनाइ छ ।

उनले दुई-चार दिनमै सहमतिको बाटो पत्ता लाग्ने बताए ।

’हुन त नेकपा नेतृत्वको नालायकीपन अझै देखिइसकेको छैन । योभन्दा अझै धेरै देख्न बाँकी छ जस्तो लाग्छ।त्यसपछि पार्टीले एउटा मोड
लिन्छ । हामी त्यसकै प्रतीक्षामा छौं,’ भुषालले भने, ’तर अहिले पार्टी फुट्छ भन्दा मलाई पत्यार लागेको छैन । फुटको औचित्य पुष्टि हुने विवाद पार्टीभित्र नरेहकाले नेताहरू दुई(चार दिनमा सहमतितिर फर्किने विश्वास छ ।’