Breaking News

एक होलान केपी माधव समूह ?

१८ कात्तिक, काठमाण्डौ । गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे । तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले । पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए ।

कतिले अनुमान लगाए– अब नेकपा विभाजन हुँदै छ, उनलाई फेरि सक्रिय हुन आग्रह भयो । कतिपयले त पूर्वएमाले ब्युँताएर प्रदीप नेपाललाई अध्यक्ष नै बनाउन लागेको भनिदिए । तर, नेपालले अन्नपूर्णसँग भने, ‘पार्टी एकता बचाउन तपाईंले माधव कमरेडलाई सम्झाइदिनुप¥यो भन्ने उहाँहरू (ओलीनिकट नेताहरू) को आग्रह थियो ।’

नभन्दै सोमबार वरिष्ठ नेता माधव नेपाल उनलाई भेट्न गोठाटार पुगे । त्यहाँ उनीहरूबीच करिब दुई घण्टा बातचित भयो । ‘उहाँ (माधव नेपाल) ले हिजो (आइतबार) टेलिफोन गर्नुभएको थियो । तपाईंकहाँ प्रधानमन्त्रीका मान्छे आएछन्, मैले पत्रपत्रिका पढेर थाहा पाएँ । म भोलि लप्सीफेदीको कार्यक्रममा जानु छ । फर्किंदा तपाईंकहाँ पस्छु भन्नुभएको थियो,’ प्रदीपले भने, ‘त्यसपछि उहाँ आउनुभयो । कुरा खस्रा–मिठा भन्छन् नि ! त्यही भयो ।’

पार्टीभित्र दुई अध्यक्षको पेचिलो अन्तरसंघर्ष चुलिइरहेका बेला नेताहरू शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, सूर्य थापा, राजन भट्टराईलगायत उनलाई भेट्न शनिबार गएका थिए । भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले धेरैपछिको सामूहिक भेटमा रमाइलो र दुर्लभ कुराकानी पनि हुने नै भयो भन्दै तस्बिरसमेत सार्वजनिक गरे । उनीहरू के गर्न आए ? भन्दै वरिष्ठ नेता नेपालले प्रदीपसँग जिज्ञासा राखेको उनले सुनाए । ‘तपाईंहरू (ओली–नेपाल) मिल्नुप¥यो रे ! मलाई पनि सक्रिय भइदिनुप¥यो, तपाईं हामी सबैको अभिभावक हुनुहुन्छ भन्दै आउनुभएको थियो’, प्रदीपले माधवलाई जवाफ दिए ।

‘माधव कमरेड यहाँ आइरहनुहुन्छ । त्यही क्रममा आउनुभयो । म एकदम सक्रिय राजनीतिबाट बाहिर छु । अब थाकें । कति गर्न सक्छु र ?’ नेता नेपालसँग भएको कुराकानी बताउँदै उनले अन्नपूर्णसँग भने, ‘तपाईंहरू मिल्नुहुन्छ भने मिल्छ, मिल्नै चाहनुभएन भने मिल्दैन ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।