खुलामञ्च, पशुपति र अन्य क्षेत्रमा निशुल्क खाना खुवाउने अभियान काठमाडौं महानगरपालिकाद्धारा रोक

१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा भिडभाड गरी खाना खुवाउने अभियान रोकेको छ । कोरोना भाइरस सिर्जित लकडाउनयता विभिन्न संस्था र अभियन्ताहरूले खुलामञ्च, पशुपति लगायत सार्वजनिक स्थलमा खाना खुवाउँदै आएका थिए ।

महानगरको यस किसिमको निर्णयको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

पछिल्लो समय लकडाउन खुलेर अवस्था सामान्य हुँदा पनि सार्वजनिक स्थलमा उस्तै भिड भएपछि रोक्ने निर्णय गरेको महानगर निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिएका छन् ।

‘खाना खुवाउन पाइन्छ । तर कस्ता व्यक्तिलाई खानाको आवश्यकता छ भन्ने अभियन्ताहरूले चिन्नु पर्छ,’ ज्ञवालीले भने, ‘लकडाउनमा कमाइ नहुँदा खान नपाउनु, महानगरको राहत वितरणमा छुट्नु स्वभाविक थियो। अहिले त्यो अवस्था करिब सकिएको छ । सडकमा खाना वितरण आवश्यक छैन ।’

‘दिनै मन छ भने पार्टी प्यालेस वा निजी क्षेत्रबाट वितरण गर्न सकिन्छ । अरू मानिसलाई अप्ठ्यारो पर्ने गरी काम गर्नुभएन,’ उनले थप स्पष्ट
पारे ।

सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम गर्न अनुमति चाहिने र समय तोक्नु पर्ने महानगरको भनाइ छ । सडक वा सार्वजनिक स्थलमा खाना वितरण कार्यक्रमको निश्चित समय नभएको हुँदा रोक्नु परेको ज्ञवाली बताउँछन् ।

‘खाना खुवाउन रोक्ने वा असहाय र गरिबलाई दुःख दिने हाम्रो नियत होइन । व्यवस्थित पर्ने र अभियन्तालाई सघाउने उद्देश्य हो,’ ज्ञवालीले भने, ‘कोही असहाय छ भने वडा वा महानगरको सम्पर्कमा ल्याइदिनु होला। हामी खाना र बासको व्यवस्था गर्नेछौं ।’

काठमाडौं महानगरले आफैंले पनि ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ नारासहित मानव सेवा आश्रमको सहकार्यमा विपन्नलाई सहयोग गरिरहेको छ । यद्यपी यो अभियान प्रभावकारी देखिएको छैन ।