एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लाग्यो

ईश्वर पोखरेल

१७ कात्तिक, काठमाडौं । नेकपाकाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् ।

सबिवालय सदस्य पोखरेलले आज सोमबार सामजिक संजालबाट ट्वीट गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।

त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी समेत गर्न उनले आग्रह गरेका छन् ।

उनले ट्वीटमा भनेका छन् एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खबरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!

पछिल्लो समय नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद चुलिँदै गएको छ ।

गत शनिबार दुई अध्यक्षबीच भेट भएको थियो । भेटमा प्रचण्डले प्रधानमन्त्री पद मागेको ओलीनिकट एक स्थायी कमिटी सदस्य बताएका थिए भने प्रचण्डले भने प्रधानमन्त्री दाबी नगरेको प्रचण्ड निकट स्रोतले बताएका थिए ।

आइतबार खुमलटार भेलामा प्रचण्डले दुई अध्यक्षबीचको भेटलाई ब्रिफिङ गर्दै ओलीले पार्टी फुटाउन चाहेको बताएका थिए ।

यसैगरी, नेकपा महासचिव विष्णु पौडेलले पनि आइतबार ट्वीट गर्दै नेकपाको पछिल्लो विवादले पार्टीमा गम्भीर संकट उत्पन्न भएको बताएका थिए ।