नेकपा प्रवक्ताद्धारा पार्टी एकता रक्षाको लागि अपिल

१७ कात्तिक, काठमाडौं । एक दुई दिनदेखि देखिएको नेकपा भित्रको विवादले पार्टी फुटकै स्थितिमा गएपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा छलफल गर्न समेत माग गरेका छन् ।

’हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहेनत, पसिना लगाएर हासिल गरिएको हो। यसको बिफलता र पार्टी फुट कदापी उचित र सही हुन सक्दैन,’ श्रेष्ठले भनेका छन्, ’फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकको चाहना र जनादेशविरूद्ध हुन्छ। तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ(आफ्नो ठाउँबाट एकताको रक्षा निम्ति सक्रिय पहल गरौं। पार्टीको बैठक बसौं र सबै पक्षका बारेमा खुला छलफल गरौं ।’

प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको बताएका छन्। यद्यपी अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखा परिनसकेको उनको भनाइ छ ।

पार्टी एकताको रक्षा निम्ति सबैबाट एउटै कुरामा इमानदार प्रतिवद्धता भए पुग्ने भन्दै उनले पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
’व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन। देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं,’ उनले भनेका छन्, ’जान(अन्जानमा देशी र विदेशी प्रतिक्रियावादी शक्तिको चाहना पूरा गर्ने कार्य कसैबाट नओस् । सबैले समयमै सोचौं ।’