भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

१७ कात्तिक, काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।

भरतपुर–१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएको थियो ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारका सबै उपायहरु गर्दा गर्दै सोमबार बिहान १ः२० बजे उनको मृत्यु भएको पौडेलले बताए ।

त्यस्तै, धादिङ्गको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको पनि कोभिड आइसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको सोमबार विहान २ः५५ बजे मृत्यु भएको पौडेलले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनकाअनुसार जिल्लामा कोरोना संक्रमणका कारण अहिलेसम्म ६४ जनाको मृत्यु भइसकेकोे छ ।

अहिलेसम्म चार हजार ४ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १६ सय जना उपचारकै क्रममा छन्।का छन् ।