कोलकाता नाइट राइडर्सद्धारा राजस्थान रोयल्सलाई ६० पराजित

१७ कात्तिक, काठमाडौं । आईपीएल क्रिकेटमा कप्तान इयान मोर्गानको उत्कृष्ट ब्याटिङ र पेट कमिन्सको कसिलो बलिङको मद्दतमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ ।

कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि पेट कमिन्सले चार विकेट लिए । शिवम माझी र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।

जितसँगै कोलकाताले जारी आईपीएलको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । यो जितसँगै कोलकाता आठौं स्थानबाट उक्लिएर चौथो नम्बरमा पुगेको छ । राजस्थानको यात्रा भने यहीँबाट टुंगिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

कोलकाताका लागि कप्तान इयान मोर्गनले नटआउट ६८ रन बनाए । ३५ बल सामना गरेका उनले ६ छक्का र ५ चौका प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।

यसैगरी शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र पेट कमिन्सले १५ रन बनाए ।

बलिङतर्फ राजस्थानका राहुल तेवटियाले ३ र कार्तिक योगीले २ विकेट लिए ।

१९२ रनको विजय लक्ष्य पछ्याएको राजस्थानलाई कोलकाताका बलरहरुले खुलेर खेल्नै दिएनन् । ओपनर रोबिन उथप्पा ६ रन बनाएर आउट भए । उनी पेट कम्सिनको बलिङमा कमलेश नगरकोटीको हातबाट क्याच आउट भए ।

बेन स्टोक्सलाई पनि पेट कमिन्सले १८ रनमा आउट गरे । उनी दिनेश कार्तिकको हातबाट क्याच आउट भए ।

स्टिभ स्मिथ पनि कमिन्सकै शिकार बने । उनी चार रनमा आउट भए ।

सन्जु सामसनले १ रन मात्र बनाउन सके । अन्य ब्याट्सम्यानभन्दा जोस बटलर केही खुलेर खेल्न खोज्दै थिए । तर उनी पनि वरुण चक्रवर्तीको बलिङ र कमिन्सको क्याचबाट आउट भए । उनले २२ बलमा ३५ रन बनाए ।

रियान परागलाई कमिन्सले खाता नै खोल्न दिएनन् । यसैगरी राहुल तिवटियाले २७ बलमा ३१ रन बनाए । श्रेयस गोपाल २३ रनमा नटआउट
रहे । जोफ्रा आर्चरले ६ र कार्तिक त्यागीले २ रन बनाए ।