Breaking News

प्रधानमन्त्री केपी ओली द्धारा अलग-अगल पार्टी बनाएर जान प्रचण्डसँग प्रस्ताव

१६ कार्तिक , काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज खुमलटारमा बहुमत सचिवालय सदस्यहरुसँग ब्रिफिङ गरेका छन् ।

आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राखेको बताएका हुन् ।

वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ’बादल’ खुमलटारमा आज भेला भएका थिए ।

९ सदस्यीय सचिवालयमा ६ जना सदस्य एकै ठाउँमा विरलै मात्र भेला हुन्छन् ।

खुमलटारको भेलामा प्रचण्डले प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको ब्रिफिङ गरेको खुमलटार स्रोतले बताएको छ ।

’हिजोदेखि प्रधानमन्त्रीले अलगअलग जाऊँ भन्न थाल्नुभएछ । उहाँले नै अब पार्टी अलगअलग जाऊँ भन्नुभयो । प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भन्नुभयो । अब के गर्ने भनेर प्रचण्डले ब्रिफ गर्नुभयो,’ ’हामीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्नुपर्छ । बैठक बस्नुपर्छ । स्थायी कमिटीको निर्णय मानेर गए भइहाल्छ, महाधिवेशनको तयारीमा जाने हो भन्यौ । ’

यता प्रधानमन्त्री निकट स्रोतले भने प्रचण्डले सरकारको नेतृत्व मागेको दावी गरेको छ ।

खुमलटार बैठकमा सहभागी ती नेताले भने प्रचण्डले सरकारको नेतृत्व नमागेको बताए ।

’हामी स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन हुनुपर्छ भनिरहेका छौं । तर प्रधानमन्त्रीका निकटस्थहरुले यस्तो हल्ला फैलाएका छन्,’ ती नेताले भने, ’अहिले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने बेला हो । सरकार परिवर्तन गर्ने होइन ।’