अन्याय र अत्याचारविरुद्ध लड्ने एक जनपक्षीय योद्धा स्वर्गीय अष्टमान बलको शालिक अनावरण

१२ कात्तिक, मकवानपुर । स्वर्गीय बलको स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सदस्य बिरोध खतिवडाले बोल्दै स्वर्गीय अष्टमान बल तत्कालिन अवस्थामा शहीदका सपना साकार पार्न हिँडेका भएको बताउनुभएको छ ।

केन्द्रीय सदस्य खतिवडाले अष्टमान बलले नै दुर्गम स्थानमा परिवर्तनका लागि आधार खडा गरेकाले अहिलेको विकास संभव भएको बताउनुभयो ।

उहाँले राजनीतिक प्रसंग कोट्याँउदै नेकपाले अहिले पाएको जस्तो जनमत इतिहासमा कहिल्यै नआउने बताउनुभएको छ । थाहा नगरपालिकाको ११ र १२ नम्मर वडा कार्यालयले संयुक्त रुपमा आयोजना गरेको शालिक अनावरण कार्यक्रममा नेकपा नेता खतिवडाले यस्तो बताउनुभएको हो ।

‘इतिहासमा अवसर भन्ने कुरा एकफेर आँउछ, पटक पटक आँउदैन, त्यसलाई अधिकतम ढंगले जनताको पक्षमा उपयोग गर्न जान्नुपर्छ ।’– जनपक्षीय प्रधानपञ्च तथा तत्कालिन टिष्टुङ गाँउ विकास समितिका अध्यक्ष स्वर्गीय अष्टमान बलको शालिक अनावरण गर्दै नेता खतिवडाले भन्नुभयो, ‘पार्टी केही होइन, आफु मात्र सर्वेसर्वा हो भन्ने ठानियो र त्यसरी काम गरियो भने पश्चिम बंगालको हालत हुन्छ ।

सांसद खतिवडाले पार्टीबाट चुनाव जित्ने तर त्यसको भोलिपल्टदेखि पार्टीभन्दा मै ठुलो हो भन्ने प्रवृति देखाइने गरेको भन्दै त्यसलाई पार्टीप्रति र जनताप्रतिको बेइमानीका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले निरन्तर पार्टी सत्तामा रहँदा पनि नेताहरुले ठिक ढंगले काम गर्न नसकेकाले पश्चिम वंगालमा अहिले कम्युनिष्ट पार्टी शुन्य सिटको अवस्थमा रहेको भन्दै त्यही हालतमा पाटीलार्ई नपु¥याउन मुख्य नेताहरुलाई चेतावनी दिनुभयो ।

नेकपा नेता खतिवडाले दुई पार्टी एक भएर नेकपा थप बलियो भएको भन्दै एकतामा हुने बललाई विकास , निर्माणमा खर्च गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थोरै स्रोत र साधनका बीच पनि जनतालाई सेवा दिन आफुहरु तत्पर रहेको तरपनि जश पाउन नसकेको गुनासो गर्नुभयो । प्रमुख विष्टले अष्टमान बल अन्यार अत्याचारविरुद्ध लड्ने एक योद्धा हुनुका साथै उहाँका अगाडि कुनै जाली–पटाहहरु टिक्न नसक्ने अवस्था रहेको स्मरण गर्नुभयो ।

इन्द्रसरोवर गाँउपालिकाका अध्यक्ष जीवन लामाले स्वर्गीय अष्टमान बल उतिबेलै सुमुदायमा जागरण ल्याउन पहल गर्ने जनप्रीय नेता भएको दावी गर्नुभयो । अध्यक्ष लामाले स्वर्गीय बलले देखाएको बाटोमा आफ्नो छिमेकी थाहा नगरपालिका हिँडेकोमा खुसी व्यक्ति गर्दै इतिहासको स्मरणको लागि शालिक अनावरण कार्य महान कार्य भएको ठोकुवा गर्नुभयो ।

कार्यक्रममा नेपाल लोकतान्त्रक आदिवासी जनाजाती महासंघका पुर्व केन्द्रीय सचिव तथा नेकपा मकवानपुर सचिवालय सदस्य रामचन्द्र बलले स्वर्गीय बलले देखाएको बाटोकौ कारण आज टिस्टुङ क्षेत्रको काँचुली फेरिएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य महेश्वर सुबेदी,प्रदेश सचिवालय सदस्य बिष्णु विष्ट,नेपाल तामाङ घेदुङ बाग्मती प्रदेश समितिका अध्यक्ष कुमार घलान, बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य सुवास लामा लगायतले स्वर्गीय बलको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष तथा थाहा–६ निवासी शन्तराम बिडारी, नेकपा थाहानगर सचिव सानुकाजी गोपाली, इन्द्रसरोवर गाँउपालिका कमिटी अध्यक्ष रिसी पुडासैनी, नेकपा मकवानपुर जिल्ला कमिटी सदस्य कल्याणविक्रम घलान, थाहानगर सचिवालय सदस्य अच्युतमप्रसाद ढकाल, विमल प्रसाद ढकाल तथा जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाविसका पुर्व अध्यक्ष तथा स्वर्गीय अष्टमानका सहयात्री अशोककुमार लामाले आफ्ना तत्कालिन सहकार्यहरुको स्मरण गरेका थिए ।

थाहा–१२ का वडाअध्यक्ष मानबहादुर स्याङ्तानको स्वागत मन्तव्यमा भएको कार्यक्रमको अध्यक्षता थाहा–११ का वडा अध्यक्ष तथा स्वर्गीय बलका सुपुत्र किरणमान बलले गरेका थिए ।

कार्यक्रममा शिक्षक ज्ञानचन्द्र शिकारी र मुर्तीकार मानबहादुर बललाई सम्मान गरिएको थियो । शिक्षक शिकारीले स्वर्गीय बलको चिानरी प्रस्तुत गरेका थए ।

को हुन् अष्टमान बल ?

विक्रम संवत २००२ साल पुस १४ गते जन्मिएका अष्टमान बल २०४३ देखि २०४६ तत्कालिन टिष्टुङ पञ्चायतको जनपक्षीय प्रधानपञ्च हुनुभयो भने बहुदल स्थापना पछि २०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित हुनुभयो ।

नेपाल तामाङ घेदुङ मकवानपुरका संस्थापक अध्यक्ष समेत रहेका बल आठ वर्ष भारतीय सेनामा काम गरेर आएकाले गाँउमा ‘लाउरे’ उपनामबाट समेत चिनिनुहुन्थ्यो । स्पष्टवक्त, निडर स्वभाव, अत्याचार विरोधी र विकासको अभियानकर्मीका रुपमा उहँले सामाजिक कामहरुमा आफुलाई संलग्न गराउनुभयो । २०४३ सालमा तत्कालिन साना किसान विकास आयोजना कार्यक्रम अन्तर्गत ठाडेखोलामा कुटानी पिशानीको मिल स्थापना गर्नुभएको थियो ।

जहाँ तोरी समेत पेलिने भएकाले तत्कालिन अवस्थामा धेरै जिल्लाबाट मानिसहरु ठाडेखोला आँउथे । पछि मेल स्थापना भएकाले सो ठाँउको नाम नै मेलखोला कायम भएको थियो ।

उहाँ तत्कालिन वागेश्वरी प्राविको व्यस्थापन समितिको अध्यक्ष भएर सो ठाँउमा शिक्षाको जग बसाल्न प्रयत्नशिल हुनुभयो ।

उहाँका घरमा त्यतीबेला मोहनचन्द्र अधिकारी, सिपी मैनाली, सिद्धीलाल सिंह लगायतका भुमीगत नेताहरु पार्टीप्रशिक्षण दिनका लागि समेत आउने समेत गर्थे । अहिले उनै बलका छोरा किरणमान बल वडा अध्यक्ष हुनुहुन्छ ।