अध्यक्ष ’प्रचण्ड’सँग सम्बन्ध बिग्रिँदै गएसँगै वरिष्ठ नेता माधव नेपालसँग प्रधानमन्त्रीको सहकार्यको प्रयास

१२ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग सम्बन्ध बिग्रिँदै गएसँगै वरिष्ठ नेता माधव नेपालसँग सहकार्यको प्रयास गरेका छन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार साढे २ घन्टा ’वान टु वान’ छलफल गरेका श्रोतले बताएको छ ।

गत कात्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा छलफल गरेका थिए । त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले सहकार्यका लागि प्रस्ताव गरेको तर ठोस प्रगति केही हुन नसकेको श्रोतले बताएको छ ।

’एउटासँग सम्बन्ध बिग्रिएपछि अर्कोसँग नजिक हुने प्रधानमन्त्रीको स्वभाव हो । उहाँले सहकार्यका लागि भनेर यस्ता प्रस्ताव विगतदेखि नै राख्नुभएको हो,’ वरिष्ठ नेता नेपालनिकट एक नेताले, भनेका छन् ’माधव कमरडेले विधि र पद्धतिका कुरा सधैं भन्नुहुन्छ जुन प्रधानमन्त्रीले लागू गर्नु हुँदैन । त्यसैले नयाँ कुरा केही भएजस्तो लाग्दैन ।

कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा अर्का अध्यक्ष प्रचण्डसँग असहमति बढेसँगै प्रधानमन्त्री ओलीले नेपालसँग भेट सुरू गरेका हुन् ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच कात्तिक ३ गतेयता भेट भएको छैन । श्रोतका अनुसार ओलीले भेटका लागि बोलाएका भए पनि प्रचण्ड बालुवाटार गएका छैनन् । प्रचण्डसँग सहमति प्रयासका लागि ओलीले अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेललाई खुमलटार पठाएका थिए । त्यस्तै संसदीय दलका उपनेता एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि बुधबारै खुमलटार पुगेका थिए ।