बाराको टेक्सटाइल मिलमा भीषण आगलागी

११ कार्तिक, काठमाण्डौ । बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका– ९ को उक्त कपडा बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयांको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आज दिउंसो पौने ३ बजे सुरु भएको आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३ः २५ मा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा आगो सल्किएर उद्योगभर फैलिएको प्रहरीको भनाइ छ ।

आगलागीमा उद्योगमै काम गर्ने भारतीय नागरिक २३ वर्षका सतिषकुमार महतो घाइते भएका छन् । दायां हात र अनुहारमा आगोले पोलेको उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।