Breaking News

जलजला गाउंपालिकामा समुदायस्तरमा कोरोना परीक्षण गर्न थालियो

११ कात्तिक, पर्वत । जलजला गाउंपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आज मंगलबारदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जांच’ अभियान शुरू गरेको हो ।

गाउंपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गरे । उनले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताए ।

मंगलबार बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

हरेक घरमा एक जनाको स्वाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउंपालिकाले जनाएको छ ।