पहिलो खेलमै रियल म्याड्रिड पराजित

एजेन्सी

६ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस महारथी क्लब रियल म्याड्रिडले खराब सुरुवात गरेको छ ।

बुधबार राति भएको समूह ’बी’ को खेलमा रियल म्याड्रिडलाई युक्रेनको क्लब एफसी शख्तर डोनेट्स्कले ३–२ गोलले पराजित गरेको हो ।

रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा डोनेट्स्कले पहिलो हाफमै तीन गोल गरेको थियो ।

खेलको २९ मिनेटमा कार्डोसो लेमोस मार्टिन्सले पहिलो गोल गरे । उनलाई गोल गर्न कोर्निन्कोले पास उपलब्ध गराएका थिए ।

३३ मिनेटमा रियलका राफायल भारानले आफ्नै पोस्टमा बल छिराउँदा डोनेट्स्कको अग्रता दोब्बर भएको थियो ।

४२ मिनेटमा सोलोमोनले डोनेट्स्कका लागि तेस्रो गोल गरेका थिए ।

पहिलो हाफमा ३–० गोलले पछि परेको रियलले दोस्रो हाफ सुरु भएको १४ मिनेट भित्र दुई गोल फर्कायो ।

रियलका लागि लुका मोड्रिकले ५४ मिनेटमा पहिलो गोल गर्दा भिनिसियस जुनियरले ५९ मिनेटमा दोस्रो गोल गरे ।

त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा रियल च्याम्पिन्यस लिगको पहिलो खेलमै पराजित भयो ।

समूह ’बी’ को अर्को खेलमा इटालियन क्लब इन्टर मिलान र जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ ।