रोयल च्यालेन्जर्स बेंग्लोरद्धारा कोलकता ८ विकेटको फराकिलो अन्तरले पराजित

एजेन्सी

६ कात्तिक, काठमाडौं । आइपिएलमा कोलकता नाइट राइडर्सले खराब ब्याटिङ गरेको छ ।

बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खराब ब्याटिङ गरेसँगै कोलकता ८ विकेटको फराकिलो अन्तरले पराजित भयो ।

पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रनमा मात्र जोड्न सक्यो ।

कोलकताले चार ओभर चल्दा सुरुवाती चार महत्वपूर्ण विकेट गुमाउँदा केवल १४ रन मात्र जोड्न सकेको थियो । सुरुवाती चार विकेट मध्ये तीन विकेट मोहमद सिराजले लिएका थिए ।

कोलकताका लागि कप्तान इयान मोर्गानले सबैभन्दा बढी ३० रन जोड्दा टम बनटनले १० रन, कुलदिप यादवले १२ रन र लकी फर्ग्युसनले नटआउट १९ रन जोडे। अन्य ब्याट्सम्यान बेंग्लोरका बलर सामू टिक्न सकेनन् ।

बलिङमा बेंग्लोरका मोहमद सिराजले ३ विकेट लिए । उनले ४ ओभरमा २ ओभर मेडन राख्दा ८ रन मात्र खर्चिए ।

युजभेन्द्र चाहलको नाममा २ विकेट रह्यो भने वासिङ्टन सुन्दरले १ विकेट लिए ।

८५ रनको लक्ष्य बेंग्लोरले १३.३ ओभरमा २ विकेट गुमाएर पार ग¥यो। बेंग्लोरका ओपनरद्वय देवदुत पडिकल २५ रन र आरोन फिञ्च १६ रनमा आउट भए ।

गुरकिरत सिंहले नटआउट २१ रन र कप्तान विराट कोहलीले नटआउट १८ रनको योगदान दिए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको बेंग्लोरले शीर्ष टिम दिल्ली क्यापिटल्ससँग समान अंक जोडेको छ । शीर्ष स्थानको दिल्ली र दोस्रो स्थानको बेंग्लोरको समान १० खेलबाट समान १४ अंक छ ।

कोलकता १० खेलबाट १० अंक जोडेर चौथो स्थानमा छ ।

आइपिएलमा बिहीबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ ।