साझा र विवेकशील पार्टी बिच एकीकरण पछि दुई जना संयोजक रहने समझदारी

४ कात्तिक, काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच बिभिन्न चरणमा भएका वार्ता, छलफल पछि विवेकशील र साझा एकीकरणको अन्तिम तयारीमा जुटेका छन् ।

यी दुई दलबीच एकीकरणपछि एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहने समझदारी बनेको पनि छ ।

चुनाव चिन्ह तथा झण्डामा तराजु रहनेछ ।

केन्द्रीय कार्यालय बखुन्डोलस्थित साझा पार्टीकै कार्यालयमा रहने र विवेकशीलको अहिले रहेको सामाखुसी कार्यालयबारे केन्द्रीय समितिले निर्णय गरे अनुसार हुनेछ ।

पार्टीमा दुई जना संयोजक रहने समझदारी पनि भएको छ ।

जसअनुसार बरियाक्रममा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पहिलो बरियताका अध्यक्ष रहनेछन् ।

एकीकृत पार्टीको संयोजन समिति, सचिवालय र संघीय तथा केन्द्रीय समितिमा दुबै पार्टीबाट बराबर सदस्य रहने सहमति छ ।

पार्टी एकीकरण सम्झौता भएको मितिले छ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने उनीहरूले प्रतिवद्धता समेत जनाएको छ ।

तर पार्टीको कार्यकारी भूमिकामा दुबै संयोजक रहने दुई पार्टीले गठन गरेको संवाद समितिको संयुक्त प्रस्ताव प्रतिवेदनमा उल्लेख छ ।

दुबै दलका केन्द्रीय समितिले निर्णय गरेपछि पार्टी एकीकरणको घोषणा गरिने उनीहरूबीच समझदारी छ ।