बिना काम बाहेक घर बाहिर ननिस्कनु

४ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकोले व्यक्तिगत तथा सामुहिक रूपमा सचेतता अपनाएर जो जहाँ छौं सोही ठाउंमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको हो ।

अतिआवश्यक परेमा घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना निकालेर आग्रह गरेका हुन् ।

चाडबाडका बेला आवतजावत र भिडभाड हुने भन्दै प्रशासनले काम नपरी घरबाहिर ननिस्कन भनेको हो ।

दिनहुं थपिने कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै भेटिने गरेकोले कोरोनाको जोखिम धेरै रहेको देखिने प्रशासनको भनाइ रहेको छ ।