नदीभित्र गाडिएको अवस्थामा भेटियो प्रहरी जवानको शव

४ कात्तिक, काठमाडौं । प्रहरी जवान रामबहादुर साउंदको शव भेटिएको ठाउंनजिकै पेस्तोल फेला परेको छ ।

भेटिएको उक्त चाइनिज पेस्तोल प्रहरी सहायक निरीक्षक गोविन्द विकले बोकेका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार विकको शव भेटिएको ठाउंबाट दुई सय मिटर उत्तरपश्चिममा जवान साउंदको शव भेटिएको थियो । शवनजिकै विकले बोक्ने गरेको पेस्तोल भेटिएको सिंहले बताए ।

उनको शव गाडेको अवस्थामा फेला परेको थियो । प्रहरीले पक्राउ परेका एक व्यक्तिको बयानका आधारमा जवानको शव भेटिएको प्रहरी स्रोतले बतायो ।

‘पक्राउ परेका व्यक्तिलाई संगै लिएर गएपछि उनले देखाएको ठाउं खनेर हेर्दा प्रहरी जवानको शव फेला परेको हो,’ प्रहरी स्रोतले भनेको छ ।

साउंदको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिदैछ भने पेस्तोलको फरेन्सिक जांच हुने सिंहले बताए ।

धनगढी उपमहानगरपालिका(१२ स्थित प्रहरी चौकी जुगेडामा कार्यरत् विक र साउंदलाई तस्करको समूहले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

असई विक र जवान साउँदलाई उस्तै प्रकृतिले हत्या गरिएको देखिएको छ । साउंदको पनि घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीले हत्यामा संलग्न केहीलाई पक्राउ गरिसकेको बताएको छ ।