साथिको हत्या गरी फरार मामा–भान्जा ११ वर्षपछि पक्राउ

१ कात्तिक, काठमाडौं । करिब ११ वर्ष अघि इँटाभट्टामा काम गर्ने आफ्नै साथीको हत्या गरी फरार भएका दुई अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ ।

मकवानपुर भीमफेदी नगरपालिका–८ का ५१ वर्षीय भीमसेन गाहामगर र ३० वर्षीय रामकृष्ण चुनी मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । फरार अभियुक्त खोजी सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले दुवैलाई बाँके नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाबाट पक्राउ गरेको हो ।

उनीहरूले २०६६ वैशाख २८ गते ललितपुर गोदावरी नगरपालिका–१३ को आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भीमफेदी ८ का ३६ वर्षीय दिलबहादुर योञ्जनको हत्या गरेका थिए । योञ्जनलाई उनी सुत्ने कोठाबाहिर कोदालीको बिँड प्रहार गरी हत्या गरिएको थियो ।

ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुल थापाका अनुसार घटनापछि दुवै अभियुक्त ललितपुरबाट पैदलै हेटौंडा गई रक्सौल नाका हुँदै नयाँदिल्ली पुगेका थिए । दिल्ली गएर उनीहरूले आफ्नो वास्तविक नाम परिवर्तन गरी भारतीय आधारकार्ड बनाएर बसेका थिए ।

दिल्लीमा रामकृष्ण प्लाष्टिक कारखाना र भीमसेन अटो रिक्सा चलाएर बसिरहेका थिए । उनीहरू नातामा मामा(भाञ्जा हुन् ।

‘उनीहरूले आफ्ना श्रीमती र छोराछोरीसमेत उतै लगेर राखेका थिए,’ विशेष सूचनाका आधारमा सम्पर्क, सम्बन्ध र निरन्तरको निगरानीपछि उनीहरूलाई ब्युरोले पक्राउ गर्न सफल भयो ।

उनीहरूको सम्पर्क सूत्र पत्ता लगाउने क्रममा ब्युरोको टोलीले भारतीय प्रहरीसँग सहकार्य गरेको थियो। सो सहकार्यका आधारमा दुवैलाई भारतीय प्रहरीसँगको समन्वयमा बाँकेसम्म ल्याउने व्यवस्था मिलाएको थियो ।

दुवैलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त चापागाउँको जिम्मा लगाइएको छ ।

हत्या भएका व्यक्ति र मामा–भान्जा एउटै ठाउँका हुन् ।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार मामा भीमसेनले थर गाहामगर हटाएर थापा बनाएर आधार कार्ड लिएको देखिएको छ भने भाञ्जा रामकृष्णले आफ्नो नाम परिवर्तन गरी श्यामलालको नाममा आधार कार्ड बनाएको देखिएको
छ ।