गरिब घरपरिवारका लागि सरकारले चाडबाड खर्च दिनुपर्छ

३० असोज, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गरिब घरपरिवारका लागि सरकारले चाडपर्व खर्च दिनुपर्ने बताएको छ ।

कांग्रेसले गठन गरेको कोरोनाबारे अध्ययन तथा अनुगमन समितिका संयोजक सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वको समितिले सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा सरकारले गरिबका लागि चाडपर्व खर्च दिनुपर्ने माग उल्लेख
छ ।

सहमहामन्त्री महतले शुक्रबार बुढानिकलण्ठ पुगेर सभापति देउवालाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

‘कोरोनाबाट अति प्रभावित गरिब घरपरिवारलाई चाडपर्वको समय समेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सिधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग गर्दछौ,’ महतले भने ।

यस्तै कांग्रेसले विदेशमा रहेका नेपाली बेरोजगार नागरिकलाई राहत, सहयोग र स्वदेश फर्कन चाहनेलाई फर्कने व्यवस्था सरकारले मिलाउनुपर्ने पनि माग गरेको सहमहामन्त्री महतको भनाइ छ ।

अप्ठेरोमा परेका नागरिकलाई सक्दो सहयोग गर्न कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह पनि गरेको छ ।

चाडपर्व लक्षित गरी सरकारले सहज यातायात व्यवस्थापन मिलाउनुपर्ने माग पनि कांग्रेसले गरेको उक्त प्रतिवेदनमा उल्लेख
छ ।