माधव नेपाल पक्षका सांसदहरुसंगको सहमति पछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिने

माधव नेपाल पक्षका सांसदहरुसंगको सहमति पछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिने २७ असोज, काठमाडौं । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूसँग सहमति भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ ।

आइतबार नेकपाका १८ जना सांसदले पार्टी संसदीय दलका नेता रहेका शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनी नेतृत्वको सरकार ढल्ने आकलन गरिएको थियो ।

दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता नेपाल पक्षका ८ जना सांसद हस्ताक्षर फिर्ता लिन सहमत भएका हुन् ।

मुख्यमन्त्री शाहीनिकट स्रोतका अनुसार नेपाल पक्षीय सांसदसंग मन्त्रीमण्डल पुनर्गठनको सहमति भएको छ ।

एक(दुई जना नयां मन्त्री बनाउने वा पुरै सेट नै फेर्नेबारे पछि कुरा हुन्छ,’ स्रोतले भन्यो,’उहांहरू सहमत भएपछि संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावको सन्दर्भ सकियो ।

सहमति भएसंगै संसदीय दलका नेता शाहीले नेपाल पक्षका सांसद कर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन् ।

कुर्मराजले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १८ जनामध्ये एक हुन् ।

नेपाल पक्षधरसंगै पूर्वमाओवादीका तीन सांसदलाई पनि हस्ताक्षर फिर्ता गराउन छलफल भइरहेको स्रोतले बतायो ।
नेपाल पक्षले मुख्यमन्त्री शाहीसंग सहमति गरेपछि असन्तुष्ट पक्षले आज १ बजेका लागि बोलाएको संसदीय दलको बैठक बस्न सकेन । र आजै केन्द्रबाट पार्टीका अध्यक्षद्धयले कर्णालीका नेताहरुलाई पत्रका काट्दै असोज २९ गते पार्टी कार्यालय धुम्बाराईहीमा उपस्थित हुन आदेश दिएको पनि छ ।