बसभित्रै किशोरीमाथि सामूहिक बलात्कार

२३ असोज, काठमाण्डौ । बसभित्र किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

झापा चन्द्रगढी पृथ्वीनगर नगरपालिका १ का २१ वर्षीय दिपेश राईलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई प्रहरीले झापा भद्रपुर नगरपालिका ८ बाट पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका वडा नम्बर ४ पाङताङका २१ वर्षीय सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई गत असोज १८ मा पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा पेश गरी जबरजस्ती करणीसम्बन्धी कसूरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूले किशोरीलाई लठ्याउने औषधि मिसाई खान दिएर जबरजस्ती करणी गरेको आरोप छ । उनीहरूले गत असोज १६ गते किशोरीलाई रत्नपार्कबाट बसमा चढाएर भक्तपुर लगेका थिए ।