२१ असोज, सुर्खेत । दाङको बबई गाउँपालिका–७ का इमाम बक्स मियाँ २१ वर्ष पुग्दा पनि अनागरिक थिए । अर्थात उनीसँग नागरिकता थिएन ।
इमामले आफ्नै बुवाको नामबाट दाङमा नागरिकता लिन पटकपटक पहल गरे तर पाएनन् । जन्मका आधारमा नागरिकता नपाउने भएकोले उनी बञ्चित भए ।
अन्ततः इमामले गलत बाटो प्रयोग गरेरै २०७५ भदौ २४ गते नागरिकता लिए । आफ्नै ससुरालाई बुवा बनाएर इमामले नागरिकता लिएको पाइएको छ ।
ससुराको नामबाट नागरिकता लिएको खुलेपछि इमाम र उनका ससुरा सल्यानको छत्रेश्वरी गाउँपालिका–७ का ४६ वर्षीय मुस्ताज मियाँ पक्राउ परेका छन् ।
नागरिकता लिदा इमामले आफ्नो नाम पनि बदलेका छन् । सक्कली नाम इमाम भए पनि नागरिकता लिदा समिर नामबाट लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए ।
दाङबाट पटक–पटक नागरिकताको लागि पहल गर्दा नबनेपछि ससुरालाई बुवा बनाएर नागरिकता लिएको पाइएको र १५ दिन म्याद थप गराएर अनुसन्धान सुरु गरिएको छ ।