उपाध्यक्ष बामदेव गौतमको सुनुवाई कोरोनाका कारण सर्यो

२१ असोज, काठमाण्डौ । सर्वोच्च अदालतमा आज बुधबार सुनुवाई तोकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाई स्थगित भएको छ ।

न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि तीन दिनदेखि सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ । बुधबार सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त र न्यायाधीश हरि फुयालको एकल गरी दुईवटा इजलास मात्र तोकिएको छ ।

नेकपा उपाध्यक्ष गौतमको राष्ट्रिय सभा सदस्य पदसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा सुनुवाई भइरहेको थियो । तर बुधबार उक्त इजलास नै राखिएको छैन ।

यसअघि असोज १४ गते सुनुवाइ भएको गौतमको रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई गरिएको थियो । त्यस दिनपनि सुनुवाइ नसकिएपछि बुधबारका लागि सरेको थियो । सर्वोच्चमा केही न्यायाधीश कोरोना संक्रमित भएको र उनीहरुसँगको सम्पर्कमा रहेका अरु न्यायाधीश होम क्वारेन्टिनमा रहेकाले सुनुवाई कहिले हुन्छ भन्ने टुंगो नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्त गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए । त्यस रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्र्वोच्चले उनको पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो ।