१६ असोज, काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ ।
भदौ ३१ गते कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ थियो । १७ असोजमा आइपुग्दा यो संख्या बढेर ५२८ पुगेको छ । अर्थात पछिल्लो १७ दिनमा मात्र १४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कडा रोग लागेर र कोरोना संक्रममितहरुको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज शनिबार थप ८ जनाको मृत्यु
शनिबार पनि ८ जनाको मृत्यु भएको छ । इनरुवा–४, सुनसरीकी २८ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । कोरोना संक्रणम पुष्टि भएपछि उनी असोज ८ मा अस्पताल भर्ना भएकी थिइन् ।
यस्तै बिराटनगर महानगरपालिका–३, मोरङकी ६८ वर्षीया महिलाको कोशी अस्पताल आइसोलेसन सेन्टरमा मृत्यु भएको छ । उनलाई ११ गते संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयका काठमाडौंका ६८ र ८३ वर्षीय पुरुष, ललितपुरका ६७ वर्षीय पुरुष, सिन्धुपाल्चोकका ४१ वर्षीय पुरुष, दोलखाका ६५ वर्षीय पुरुष र कैलालीका ७९ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ ।