अध्यक्ष प्रचण्डको टार्गेट तीन मन्त्रीलाई आउट, तीन नेतालाई नो इन्ट्री

१४ असोज, काठमाण्डौ । पार्टी भित्रको भागबण्डाको शक्ति सन्तुलन मिलाउनकै लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच लगातार तीन दिनसम्म मन्त्रिपरिषद फेरबदलबारे छलफल भइरहे पनि कुनै सहमति निस्कन सकेको छैन ।

चौथो दिन आज बुधबार पनि मन्त्री फेबरदेलकै बिषयमा दुई अध्यक्षको भेट हुने भनिए पनि लाष्टमा स्थगित भएको थियो ।

प्रचण्डले प्रधानमन्त्री बाहेक सबै मन्त्री हटाएर नयाँ पठाउनुपर्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री ओली भने केही मन्त्री मात्रै हटाउने पक्षमा रहेको स्रोतको दाबी छ ।

मन्त्रीहरूको नाम उल्लेख नगरे पनि प्रचण्डले केही मन्त्रीलाई आफूले हटाउन चाहेको स्पष्ट संकेत दिएको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ ।
अध्यक्ष प्रचण्डले कसैको नाम लिनुभएको छैन । तर, उहाँले सबै मन्त्री हटाउनुपर्छ भन्नुको कारण नयाँ मन्त्रिपरिषदमा रामबहादुर थापा र लेखराज भट्ट नपरून् भन्ने हो । पार्टीभित्र केही समयअघि संघर्ष चर्किंदा आफ्नो साथ छाडेर प्रधानमन्त्री ओलीतिर लागेका मन्त्रीहरू हटाउने प्रचण्डको मनसाय रहेको ती नेताहरुको भनाई रहेको छ ।

पूर्वमाओवादी नेता थापा गृहमन्त्री बनेदेखि नै प्रधानमन्त्री ओलीसँग नजिकिएको र सरकार–पार्टी दुवै ठाउँमा उनलाई नै साथ दिएको प्रचण्डनिकट नेताहरूको आरोप
छ । सचिवालय सदस्य समेत रहेका थापाले त्यहाँ पनि प्रधानमन्त्रीकै पक्षमा बोल्ने गरेका छन् ।

आफूले सरकारमा पठाएको भए पनि प्रधानमन्त्री ओलीलाई साथ दिएको भनेर प्रचण्ड थापासँग सन्तुष्ट छैनन् ।

त्यस्तै, गत मंसिरमा सरकारमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई पनि प्रचण्डले राख्न नचाहेको बालुवाटारको आरोप छ ।

भट्टले सार्वजनिक रूपमै ओलीको प्रशंसा र प्रचण्डको आलोचना गरेका छन् ।

प्रधानमन्त्रीनिकट एक नेताका अनुसार प्रचण्डले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई समेत हटाउन चाहेका छन् । आफूसँग औपचारिक–अनौपचारिक रूपमा भिडेका कारण प्रचण्डले पोखरेललाई राख्न नचाहेको ती नेताको दाबी छ ।

पूर्व एमाले नेता पोखरेललाई हटाउनेबारे सिधै भन्न नमिले पनि सबै मन्त्री हटाउने नीति बनाउँदा उनलाई पनि स्वतः हटाउन सकिने प्रचण्डको ताक रहेको ओलीनिकट नेताको आरोप छ ।

’उहाँले प्रधानमन्त्रीलाई सहयोग गर्ने मन्त्रीहरूलाई तारो बनाउने ध्येयले सबैलाई एकैचोटि हटाउन खोज्नुभएको हो । उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री थापा र उद्योग वाणिज्यमन्त्री लेखराज भट्टलाई हटाउन चाहनुभएको छ ।

पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साहलाई पनि सरकारमा जान रोक्ने पक्षमा प्रचण्ड रहेको ती नेताले बताए ।

‘यिनै कुराले पनि मन्त्रिपरिषद पुनर्गठनमा ढिलो भएको हुनसक्छ ।
प्रधानमन्त्रीनिकट एक मन्त्रीका अनुसार प्रचण्डले उपध्यक्ष वामदेव गौतमको विचाराधीन मुद्दाको फैसला पनि कुरेका छन् ।

प्रचण्डले गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा छिनोफानो नभएसम्म मन्त्रिपरिषद पुनर्गठन कुर्नुपर्ने तर्क गरेका छन् । प्रचण्डको यो अडानलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको समेत साथ छ ।

खनाल र नेपाल दुवै उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने पक्षमा छन् । उपाध्यक्ष गौतमविरुद्ध परेको मुद्दामा बुधबार सुनुवाइ सुरू भएको छ । हेर्दा–हेर्दैमा नभ्याएर सर्वोच्चले मुद्दा अर्कोपटकका लागि सारेको छ ।

सर्वोच्चको सुनुवाइ कुरेकाले पनि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न नआएको हुनसक्ने बालुवाटारको अनुमान छ । स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई फोन गरेर बुधबार आउन नभ्याउने बताएका थिए ।

प्रचण्डनिकट एक नेताले भने कुनै पनि व्यक्ति विशेषबारे अडान नलिएको बताए ।

’अध्यक्षको पहिलो चाहना प्रधानमन्त्री बाहेक सबै मन्त्री हटाउनुपर्छ भन्ने नै हो । सबै नहटाउने भए अपवाद बाहेक सबै मन्त्री फेरौं भन्ने हो,’ प्रचण्डनिकट ती नेताले भने, ’प्रधानमन्त्रीले नै धेरै परिवर्तन गर्न चाहनुभएको छैन । अहिलेको मतभेदको जड त्यही हो ।