बलात्कार गर्ने प्रयासमा १२ बर्षे बालिकाको हत्या

११ असोज, विराटनगर । मुलुकमा बलात्कारका घटना बढ्ने क्रमसँगै सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको छ ।

बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरी स्रोत बताउँछ ।

हत्यामा संलग्नको आशंकामा प्रहरीले स्थानीय रञ्जित राईसहित ८ जनालाई पक्राउ गरेको थियो । तर अरु ७ जना रिहा भएका छन् भने रञ्जितमाथि अनुसन्धान सुरु गरेको छ । ‘शुक्रबार राति ७–८ जना युवकसँगै थिए, तर बालिका सुतेको कोठामा रञ्जित मात्रै प्रवेश गरेको देखिन्छ’ प्रहरी स्रोतले भन्यो ‘बालिकाले प्रतिकार गर्ने क्रममा हातमा टोकेको देखिन्छ ।

राति बाबुआमासँगै छिमेकीको घरमा धामी हेर्न गएकी मिना राई निद्रा लागेपछि मध्यरातमा एक्लै घर फर्किएकी थिइन् । परिवारका सबै सदस्य धामी हेर्न जाँदा ढोकामा चाबी लगाएका कारण उनी झ्यालबाट आफ्नो कोठामा सुत्न गएकी थिइन् ।

राति ११ बजे बालिकाको घरमा सामान किन्ने बाहनामा आएका रञ्जित झ्यालबाट बालिका सुतेको कोठामा प्रवेश गरेको प्रहरी स्रोतको भनाइ छ । रञ्जितले घरेलु मदिरा सेवन गरेका थिए, बालिकाले हात टोकेको रिसमा उनले बोतलले बालिकाको टाउकोमा प्रहार गरे । त्यसपछि घाँटी थिचेर बालिकाको मृत्युपछि बाहिर निस्केको प्रहरी स्रोतको दावी छ ।

घटनामा रञ्जितको मात्र संलग्नता देखिएपछि अन्यलाई छाडिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

‘लैला’ले पु¥यायो रञ्जितको घर बालिकाको शव भेटिएपछि प्रहरीले अभियुक्त खोज्न कुकुरको सहायता लिएको थियो । संघीय प्रहरी इकाई धरानबाट लगिएको ‘ट्रयाकिङ डग लैला’ घटना स्थलबाट रञ्जितको घरसम्म पुग्यो । त्यसपछि प्रहरीले रञ्जितलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार मृतक बालिकालाई रञ्जितले भान्जी भन्थे । राति बलात्कार प्रयास गर्दा हात टोकेपछि आवेगमा हत्या भएको हो । तर सुनसरीका प्रहरी उपरीक्षक थापा बलात्कारपछि हत्या भयो भन्ने स्पष्ट आधार नभेटिएको बताउँछन् ।

‘राईको संलग्नता खुलेपछि आज म्याद थप गरेर अनुसन्धान गर्दैछौं’ उनले भने ‘अनुसन्धान जारी छ । प्रारम्भिक अनुसन्धानमा बलात्कार प्रयासको विषय आरोपीले स्वीकार गरेका छैनन् ।