पाल्पामा पहिरो ५ जना बेपत्ता

८ असोज, काठमाडौं । लगातार आएको बर्षाले पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा पहिरो आउँदा दुई वटा घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् ।

पहिरोले फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका भएका छन् । बेपत्ता हुनेहरूमा एकजना पुरुष, २ महिला र २ बालिका रहेका छन् ।

बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो ।
त्यस्तै रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भइरहेको बताए ।