यी क्षेत्र र प्रदेशमा भारी बर्षाको सम्भावना सतर्क हुन महाशाखाको आग्रह

७ असोज, काठमाडौं । नेपाल दुई दिन देखि लगातार बर्षा भइरहेको छ । हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापिय क्षेत्र पश्चिम तथा उत्तरपश्चिम सर्दैछ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

बिहीबार पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।