दश मन्त्री र ५ मुख्यमन्त्रीको पद धरापमा

४ असोज, काठमाडौं । अन्ततः नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली दश मन्त्री र पाँच जना मुख्यमन्त्री फेर्न तयार भएका छन् । पछिल्लो समय ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्री र मुख्यमन्त्री फेर्ने विषयमा मतभेद रहँदै आएको थियो । ओली मन्त्री र मुख्यमन्त्री नफेर्ने र खाली ३ मन्त्रालय र २ मन्त्रालय फुटाएर ५ जना नयाँ मन्त्री थप्नुपर्ने बताउँदै आएका थिए । तर पार्टीभित्रका अधिकांश शीर्ष नेताहरू मन्त्रीहरू र मुख्यमन्त्रीहरू फेर्नुपर्ने पक्षमा रहेपछि ओली १० मन्त्री र पाँच मुख्यमन्त्रीलाई बिदाइ गर्न सहमत भएका हुन् ।

ओलीको सन्देशसहित शुक्रबार महासचिव विष्णु पौडेलले प्रचण्डलाई भेटेर यो सन्देश दिएका थिए । पार्टी सचिवालयमा छलफल हुनुअगावै ओली प्रचण्डबीच मन्त्रिमण्डल पुर्नगठनमा सहमति भएपछि सचिवालयले नयाँ मन्त्री र बिदाइ गरिने मन्त्रीको मापदण्ड तयार गर्ने भएको छ । ओली र प्रचण्डबीच मोटामोटी रूपमा २ वर्ष कार्यकाल पूरा गरेका केही र कार्यसम्पादन कमजोर रहेका गरी १० मन्त्रीलाई बिदाइ गरेर खाली रहेका तीन मन्त्रालयमा गरी १३ जना नेतालाई मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

नयाँ मन्त्रीबारे सचिवालयमा पनि छलफल हुनेछ । आइतबार बस्ने सचिवालय बैठकले नयाँ मन्त्री छानेको खण्डमा पहिलो साताभित्रै मन्त्रीमण्डाल पुर्नगठन हुने भएको छ । ओलीसँग मन्त्री र मुख्यमन्त्री हेरफेरमा समझदारी भएसँगै हिजो मात्र प्रचण्डले दुई, तीन दिनभित्र मन्त्रीमण्डल पुर्नगठन हुने बताएका थिए । गृहजिल्ला चितवन पुगेका प्रचण्डले आफूनिकट नेताहरूसँग मुख्यमन्त्री पनि फेरिने भएपनि दशैं तिहारपछि मात्र प्रदेश सरकार पुर्नगठनमा लाग्ने बताएका थिए ।

ओली र प्रचण्डबीच बिदाइ गर्ने मन्त्रीबारे भने मतभेद कायमै छ । दुई वर्ष कार्यकाल पूरा गरेको भए पनि ओली भने उपप्रधानमन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई निरन्तर दिने पक्षमा छन् । तर प्रचण्ड भने उनीहरूको कार्यसम्पादन कमजोर रहेकोले विश्राम दिनुपर्ने बताउँदै आएका छन् । बिदाइ गर्ने मन्त्रीमा ठोस सहमति नजुट्दा यसबारे आइतबार बस्ने सचिवालय बैठकले मापदण्ड तयार गरी हटाउने मन्त्रीको लिष्ट तयार गर्ने भएको छ । सचिवालयले लिने निर्णयमा अध्यक्षद्वयले हस्तक्षेप नगर्ने सहझदारी पार्टीमा भएकोले २ वर्ष कार्यकाल पूरा गरेका सबै मन्त्रीको बिदाइ हुने निश्चित रहेको स्रोतले बतायो । ओली प्रचण्डले १० मन्त्रीको विदाइ गर्ने बताए पनि सचिवालयको मापदण्डअनुसार त्योभन्दा पनि धेरै मन्त्रीको बिदाइ हुन सक्ने स्रोतको दाबी छ ।

यता नयाँ मन्त्री चयनमा पनि ओली प्रचण्डबीच ठोस सहमति हुने नसकेकोले सचिवालयले नै निर्णय लिने बताइएको छ । प्रतिनिधिसभा निर्वाचन हारे पनि हाल राष्ट्रियसभामा रहेका उपाध्यथा वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा लानेबारे ओली(प्रचण्डबीच कुरा मिलेको छैन । ओली उनीहरूलाई सरकारमा लैजान कानुन बाधक रहेको बताउँदै आएका छन् भने प्रचण्ड सरकारमा लानुपर्ने बताउँदै आएका छन् । सचिवालयमा उनीहरूलाई सरकारमा लैजानुपर्छ भन्ने मत बलियो रहेकोले गौतम र श्रेष्ठ दुबैजना सरकारमा सहभागी हुने सम्भावना बलियो छ ।

त्यसैगरी स्थायी कमिटीका रहेका सबैजनालाई सरकार लैजाने तयारी गरिएको छ । जसअनुसार भीम रावल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, सोमप्रसाद पाण्डे र पम्फा भुषाललाई सरकारमा लगिने भएको छ । साथै दुई कार्यकाल निर्वाचन जितेर पनि अवसर नपाएका अन्य नेताहरूलाई यसपटक अवसर दिइने ओली(प्रचण्डको तयारी छ ।

यी मुख्यमन्त्रीको पद धरापमा

ओली(प्रचण्डबीच ५ मुख्यमन्त्री फेर्ने सहमति भएकोले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलबाहेक सबै मुख्यमन्त्रीको बिदाइ गर्ने तयारी गरिएको स्रोतको दाबी छ । पोखरेल र गुरूङ दुबैजना ओली निकट नेता हुन् । ओलीले उनीहरूलाई हटाएपछि त्यस ठाँउमा आफूनिकट मुख्यमन्त्री नबन्ने देखेपछि उनीहरूलाई निरन्तरता दिन चाहेका छन् । प्रदेश ५ मा राजधानी र नामाकरणमा विवाद कायमै रहेकोले शंकरले नै त्यसको व्यवस्थापन गर्न सक्ने भन्दै ओलीले प्रचण्डलाई कन्भिन्स गराएका छन् ।

यता गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री गुरूङको कार्यसम्पादनमा कुनै विवाद नरहेको र मुख्यमन्त्रीमा दाबी गर्ने खालका नेता पनि नरहेकोले उनको पद जोगिने भएको हो । यता प्रदेश २ मा नेकपाको सरकार नरहे पनि जसपा पनि मुख्यमन्त्री फेर्ने तयारीमा रहेकोले दशैंपछि ५ मुख्यमन्त्रीको बिदाइ हुने निश्चित भएको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बागमतीका डोरमणी पौडेल, प्रदेश १ का शेरधन राई, कर्णाली प्रदेशका महेन्द्र शाही र प्रदेश ७ का त्रिलोचन भट्टको ठाँउमा नयाँ नेताहरूले अवसर पाउने भएका छन् ।

नवकान्तिपुर डटकमबाट