नेकपा सचिवालय बैठकमा मन्त्री फेरबदल सम्बन्धी छलफल

४ असोज, काठमाडौं । सधै झै प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरिएको नेकपा सचिवालयको बैठक आज भूतपूर्व नेकपा माओवादी केन्द्र को पार्टी कार्यालय तथा अहिले नेकपा को जनवर्गीय संगठनको कार्यालय रहेको कोटेश्वरको परिस डाडामा आज सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसेको थियो । बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल सुरु भएको बताइएको छ ।

पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भए पनि कुन कुन मन्त्रीलाई हटाएर क–कसलाई पठाउने भन्नेबारे नाममा भने छलफल भएको छैन ।

‘मन्त्रिपरिषद पुनर्गठनबारेमा आजको सचिवालय बैठकमा छलफल भयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत रूपमा र मापदण्डबारे छलफल सुरू भएको छ । नामबारे छलफल भएन । आवश्यकता परेमा नामबारे प्रधानमन्त्रीसँग पछि यसबारे छलफल गर्न सकिन्छ ।’

आजको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन लगायत चार एजेन्डा छलफलका लागि पेश गरिएको थियो । हालै सकिएको स्थायी कमिटी बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिको एजेन्डा पनि छलफलका लागि पेश भएका छन् । सरकारले गर्ने नियुक्ति विषयमा आधार तय गर्न छलफल गर्न लागिएको प्रवक्ता श्रेष्ठले बताए । भोलि पनि सचिवालय बैठक पेरिसडाँडामा नै बताइएको छ ।