Breaking News

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते गर्ने तयारी

२ असोज, काठमाडौं । कोभिड–१९ का कारण पटकपटक रोकिँदै आएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते गर्ने तयारी अघि बढाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकले सो मितिमा बैठक गर्ने प्रस्ताव कार्यकारिणी समितिमा लैजाने भएको हो । महासंघका उपाध्यक्ष चन्द्र ढकालले तिहारलगत्तै साधारणसभा गर्ने गरी प्रस्ताव गरेको जानकारी दिएका छन् ।

कार्यकाकारिणी समितिले उक्त प्रस्ताव पास गरेर मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि साधारणसभाको मिति निश्चित हुनेछ । यसअघि साउन २६ र २७ गते साधारणसभा गर्ने प्रस्ताव गरिएकोमा मन्त्रिपरिषद्ले समयमा स्वीकृति नदिँदा अन्यौलमा परेको थियो । कोभिडको जोखिम बढेको भन्दै पछि पदाधिकारी बैठकले सो साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो ।

गत चैतमै हुनुपर्ने साधारणसभा असामान्य परिस्थितिपछि पटकपटक सरेको हो । सुरुमा चैत २७ र २८ गतेका लागि तोकिएको साधारणसभाको कार्यक्रम सरकारले देशव्यापी रुपमा आह्वान गरेको लकडाउनका कारण अनिश्चितकालका लागि स्थगित हुन पुगेको थियो ।

साधारणसभाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्षको पद हस्तान्तरण गर्नेछ भने आगामी कार्यकालको नेतृत्वको रुपमा रहेको वरिष्ठ उपाध्यक्ष तीवनटै विषयगत उपाध्यक्ष छनाट समेत गर्नेछ । आगामी निर्वाचनको लागि वर्तमान दुई उपाध्यक्षहरु चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।