प्रहरी हिरासतमै एक युवक मृत फेला

२८ भदौ , धनगढी । धनगढीमा प्रहरी हिरासतमै मृत्यु एक जनाको मृत्यु भएको छ । मोबाइल चोरीका आरोपमा पक्राउ गरी हिरासतमा रहेका रोशन विकको मृत्यु भएको छ । मृत युवकका परिवार तथा आफन्तले उनको हिरासतमै हत्या गरीएको आरोप लगाएका छन् ।

‘मुख र नाकबाट रगत बगेको अवस्थामा मृत अवस्थामा थिए । मृतक रोशनका बुबा टेक विकका अनुसार ‘प्रहरीको कुटाइबाट मरेको हो । प्रहरीले आत्महत्या भनेर घटना ढाकछोप गर्न खोजिँदै छ ।’ अस्ति शुक्रवार वास्तविकता बाहिर ल्याउन माग राख्दै उनीहरूले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।

शनिवार भने सुदूरपश्चिम प्रदेश प्रहरीले सशस्त्र प्रहरी गणका एसपी राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेपछि रोशनको शव बुझेर दाहसंस्कार गरेका छन् ।

रोशन बिक मोबाइल चोरी आरोपमा भदौ २२ गते पक्राउ परेका गिए तर लगत्तै ४ दिन पछि उनले हिरासतमै आत्महत्या गरेको जानकारी गराइयो ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमै अन्तिम क्षण गुजारेका विकले सट खोली घाँटीमा बेरेर शौचालयमा आत्महत्या गरेको जानकारी गराइयो । प्रहरी प्रवक्ता डिएसपी प्रतीक विष्टले विकले आत्महत्या गरेको
बताए । तर प्रहरी हिरासतमा अभियुक्तहरू असुरक्षित बन्नथालेपछि प्रहरीको भूमिका माथि नै थप प्रश्न चिह्न खडा भएको छ ।

तर प्रहरीले आत्महत्या गरेको प्रमाणित गर्न १४ जना कैदीहरूलाई अन्तिम आधार बनाउने देखिएको छ । बिक सँगै रहेका अन्य १४ जना कैदीलाई विकले आत्महत्या गर्दाको दृश्य देखेको भन्दै थप दबाब दिइने प्रहरी श्रोतले बताएको हो ।

कैदीहरूको भनाइलाई अन्तिम आधार दिँदै अनुसन्धानका लागी गठित छानबिन समितिले पनि सोही कुरा प्रतिवेदनमा समेट्ने देखिएको छ ।

छानबिन समितिको भूमिका माथि पनि प्रश्न

कैलालीमा पछिल्लो समय प्रहरी हिरासतमै अभियुक्तहरूको ज्यान जाने क्रम बढेको छ । गत साउन २८ गते कैलालीको फूलबारी स्थित सीमा प्रहरी चौकी बहुलीयाले हिरासतमा लिएको ४५ वर्षीय अमर बहादुर चन्द पनि घाँटी रेटिएको अवस्थामा फेला परे ।

एकातिर सीमा प्रहरी चौकी बहुलीया माथि नै शङ्का उब्जिरहेका बेला गठित छानबिन समितिले भने ब्लेड ले नै घाँटी रेटिएको प्रतिवेदन तयार पारेको छ । एसपी राजीव बस्न्यातको नेतृत्वमा गठित छानबिन समितिले उक्त प्रतिवेदन तयार पारेको हो ।

तर चन्द मृत्यु प्रकरणमा पनि शौचालयमा आफैले घाँटीमा ब्लेड लगाएर चन्दले आत्महत्या गरेको जानकारी गराइएको थियो। स्थानीयको आक्रोश थेग्न नसकेपछि राजीव बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरियो ।

तर छानबिन समितिले उक्त मृत्यु प्रकरणलाई झन् दबाउन ‘भवितव्य’को रूप दिँदै आत्महत्या गरेको प्रतिवेदन पठाएको छ । एसपी बस्न्यातले भने,–‘ब्लेड लगाएर आत्महत्या गरीएको अनुसन्धानका क्रममा खुल्नमा आएकाले सोही कुरा प्रतिवेदनमा उल्लेख गरेका छौ ।’

कैलालीमा प्रहरी हिरासतमै अभियुक्तहरू असुरक्षित रहन थालेछी प्रहरीको सुरक्षा व्यवस्था प्रति प्रश्न उब्जिरहेका बेला अनुसन्धानका लागी गठित छानबिन समितिले अप्रत्यासीलो प्रतिवेदन तयार पार्दा भूमिका माथि नै प्रश्न खडा हुन थालेको हो ।

हिरासतमा बिक मृत्यु प्रकरणमा पनि छानबिन समितिले १४ कैदीहरूको भनाइलाई अन्तिम आधार दिँदै आत्महत्या गरेको प्रतिवेदन तयार पार्ने विश्वस्त श्रोत बताउँछ ।

राज्य नै जवाफ देही बन्नु पर्छ–मानव अधिकार आयोग

कैलालीमा प्रहरी हिरासतमै अभियुक्तहरू मृत फेला पर्न थालेपछि राष्ट्रिय मानव अधिकार आयोगको पनि ध्यानाकर्षण भएको जनाएको छ । हिरासतमा बिक मृत्यु प्रकरण बुझ्न राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमको टोलीले शनिवार प्रहरी कार्यालयको अनुगमन गरेको हो ।

तर प्रहरी हिरासतमा अभियुक्तहरू असुरक्षित बन्नथालेपछि थप प्रश्न चिह्न खडा भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका संयोजक शंकर रावलले बताए । उनले घटनाको विस्तृत अध्ययन गरिने बताए ।

सुदूर डेलीबाट