गएरातिको पानीले सिन्धुपाल्चोकको ३ ठाउँमा पहिरो क्षतिको विवरण आउन बाँकी

२८ भदौ, काठमाडौं । गएराति परेको निरन्तर बर्षाका कारण सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको
छ । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताएका छन् । ‘नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । उनकाअनुसार घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह समेत गरेको छ ।