आज देशभरमा १२०१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि

२७ भदौ, काठमाडौं । आज देशभरमा १२०१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।

आजै ८५२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ४३१ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना छन् ।

यस्तै मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८-१८ जना, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०-१० जना र पाल्पाका ९ जनामा संक्रमण देखिएको छ ।

महोत्तरी र रोल्पाका ८-८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७-७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४-४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३-३, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २-२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १-१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।