काँग्रेसमा हिन्दू राज्ट्रको माग उठ्न थाल्यो

२७ भदौ, काठमाडौं । महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ । संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ ।

‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान हो । हाम्रो राष्ट्रियता हो। यसलाई स्वीकार गर्नेलाई पार्टीमा स्थापित गराउनु हाम्रो अभियान हुनेछ ।’

संविधानमा रहेको धर्मनिरपेक्षताप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता खुमबहादुर खड्काले पार्टीभित्र र बाहिर हिन्दूराष्ट्रको पक्षमा बहस चलाएका थिए । तर, उनको निधनपछि उक्त मुद्दा पार्टीमा मलिन रूपमा उठे पनि त्यसले दबाब सिर्जना गर्न सकेन ।

खड्कानिकट केन्द्रीय सदस्य भण्डारीलगायत नेताले हिन्दूराष्ट्रका पक्षमा आवाज उठाउँदै आएका छन् । काठमाडौंमा दुई वर्षअघि सम्पन्न महासमिति बैठकमा सहभागी १ हजार ४ सय सदस्यमध्ये करिब ७ सयले हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर बुझाएका थिए। त्यसलगत्तै बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू बालकृष्ण खाँण, एनपी साउद, डा. शेखर कोइरालालगायतले पनि धर्मनिरपेक्षताका ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्ने माग चर्काे रूपमा उठाएका थिए ।

यसअघि मौसमी रूपमा कांग्रेसमा धर्मको विषयले चर्चा पाउँदै आए पनि महाधिवेशन नजिकिएसँगै शीर्ष नेता हिन्दूराष्ट्रका विषयमा बोल्न थालेका हुन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।