Breaking News

काठमाण्डौ उपत्यकामा जताततै कोठा र सटर खाली

२६ भदौ, काठमाडौं । कोरोना महामारी अघिको समयमा काठमाडौंमा खाली कोठा र व्यापार गर्नलाई सटर पाउन कठिन र धौधौ हुन्थ्यो । तर अहिले काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्र भित्रै कोठा खाली र सटर खाली भएको जताततै देख्न
सकिन्छ ।

कोठा भाडामा बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने काठमाण्डौमा अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ । कोरोना संक्रमणका कारण ४ महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन् ।

कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन् ।

यहीँ भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ । होटल, रेष्टुरेण्ट, होस्टलदेखि अधिकांश व्यवसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् ।

कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि कोठा खाली भएका धेरै सूचनाहरु घर, पसल र सार्वजनिक स्थलमा टाँसिएको देखिन्छ ।

कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आउन पनि सक्छ ।

अहिले काठमाडौँका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरु टाँसेको देख्न सकिन्छ । भाडामा बस्नेहरुको संख्या घट्दै घएपछि ऋण काढेर घर बनाएकाहरुलाई भने समस्या देखिएको छ । कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरुलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्न समेत समस्या भएको बुझिएको छ ।