घरबेटीको कुटाइबाट एक जनाको मृत्यु

२६ भदौ, काठमाडौं । कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ ।  कीर्तिपुर नगरपालिका ७ बस्ने ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीमाथि कुटपिट गरेका थिए ।

महर्जनले काठको भाटाले हिर्काउँदा शम्भु गम्भीर घाइते भएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) रूकेश तन्डुकारले बताए ।

आज दिउँसो उनीहरूबीच विवाद हुँदा झडप भएको हो । त्यहीक्रममा बहालमा बसेका पुरूष घाइते भएका थिए ।

चौधरीले केही दिनअघि मात्रै महर्जनको घर छाडेर अन्तै बस्न थालेका थिए तर आज चौधरीले मापसे गरी महर्जनको घरमा झगडा गर्न पुगेको प्रहरीले जनाएको छ  ।

घाइते भएका उनको उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो उनको उपचारकै क्रममा मृत्यु भएको डिएसपी तन्डुकारले जानकारी दिए प्रेमलाल महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतकको बाहिरी चोट भने नदेखिएको डिएसपी तन्डुकारले बताए । ‘उनको बाहिर चोट भने देखिएको छैन ।भित्री चोट देखिन्छ’ उनले भने, ‘पोष्टमर्टम रिपोर्ट आएपछि पूर्ण विवरण आउँछ ।