नेकपा स्थायी कमिटी बैठक सुरु

२६ भाद्र, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि मात्र सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ ।

यसअघिनै दुई अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटी सदस्यहरूलाई इमेलबाट पठाइसकिएको थियो ।

दुबै अध्यक्षबीचमा सहमति जुटिसकेकोले आजै बैठक सक्ने तयारी रहेको नेकपा एक स्रोतले जानकारी दिएको हो ।

साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा अनिश्चितकालका लागि स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै ओली इतरका नेताहरू आक्रोशित बनेका थिए ।

साउन ३० गते विवाद समाधान गर्न कार्यदल बनेसँगै नेकपा विवाद समाधानको दिशामा गएको थियो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनकै आधारमा राजनीतिक प्रतिवेदन तयार भएको हो ।

कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता माधव नेपालको भने असन्तुष्टि जनाउनु भएको थियो ।