स्ट्राइकर रोनाल्डोद्धारा १००औं अन्तर्राष्ट्रिय गोल पुरा

एजेन्सी

२४ भदौ, काठमाडौं । पोर्चुगल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि १००औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । हिजो मंगलबार राति युइएफए नेसन्स लिग अन्तर्तग स्विडेनविरुद्धको खेलमा गोल गरेसँगै रोनाल्डोले सय गोलको कोशेढुंगा पार गरेका हुन् ।

रोनाल्डोले पोर्चुगलबाट १७ वर्षको अन्तर्राष्ट्रिय करिअरमा १६५ खेल खेल्दा सय गोल पूरा गरेका हुन् ।

समूह ए–३ को खेलमा पोर्चुगलले स्विडनेलाई २–० ले पराजित गर्दा दुवै गोल रोनाल्डो नै गरेका थिए । उनले खेलको ४५ मिनेटमा गोल गरेर सय गोलको कोशेढुंगा पार गर्दा ७२ मिनेटमा टिमको अग्रता दोब्बर पारे ।

४५ मिनेटमा सय गोल पूरा गर्दा रोनाल्डोले फ्रिकिकमार्फत सानदार गोल गर्न सफल भए । ३५ वर्षीय रोनाल्डो अब सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्डबाट ८ गोल टाढा छन् ।

सर्वाधिक गोलको कीर्तिमान इरानका अली डेइको नाममा छ। उनले १९९३ देखि २००६ सम्ममा इरानका लागि १०९ गोल गरेका थिए ।

यसअघि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दोस्रो खेलाडी बनेका इटालीयन क्लब युभेन्ट्सका फरवार्ड रोनाल्डोले ९९ गोल गरेको झन्डै एक वर्षपछि सय गोल गरेका हुन् ।

उनले २०१९ को नोभेम्बरमा लग्जेम्बरविरुद्ध ९९ गोल गरेका थिए ।

सन् २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका रोनाल्डोले सन् २००४ को युरो कपमा ग्रिसविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

अहिले अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका खेलाडी मध्ये रोनाल्डो सर्वाधिक गोलकर्ता (१०१ गोल) हुन् । दोस्रो स्थानमा भारतका सुनील क्षेत्री छन् । क्षेत्रीले ७२ अन्तर्राष्ट्रिय गोल गरेका छन्। तेस्रो स्थानमा रहेका अर्जेन्टिनाका लिओनल मेसीले ७० गोल गरेका छन् ।

पछिल्ला वर्षमा उत्कृष्ट लयमा देखिएका रोनाल्डोले ३० वर्षको उमेरपछि छिटो अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनले ३०औं जन्मदिनपछि ४७ अन्तर्राष्ट्रिय खेलमा ४९ गोल गरे ।

१०१ अन्तर्राष्ट्रिय गोल गर्ने क्रममा रोनाल्डोले दाहिँने खुट्टाले ५४ गोल, देब्रे खुट्टाले २२ गोल र हेडमार्फत २५ गोल गरे। जसमा उनले ८० गोल डिबक्स भित्रबाट र २१ गोल डिबक्स बाहिरबाट गरे ।

उनले सन् २०१९ मा सर्वाधिक १४ गोल गर्न सफल भए । यस्तै सन् २००४ मा ११ गोल गरेका उनले २००६, २०१६, २०१७ र २०१९ मा १०(१० गोल गरे ।