स्वास्थ्य मन्त्रालयद्धारा उपत्यकाका १३ स्थानमा कोरोना रोकथाम र नियन्त्रण सम्बन्धी जनचेतना जगाउन स्वयम्सेवक परिचालन

२० भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ ।
मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलिएकाले ती स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम गर्न स्वयम्सेवक परिचालन गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

ती स्थानमा गई स्वयम्सेवकले कोभिड–१९ बाट बच्नका लागि जनसमुदायलाई जनचेतनामूलक कार्यक्रममार्फत आग्रह गर्नेछन् । उपत्यकामा दैनिक सङ्क्रमण बढिरहेकाले मन्त्रालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो । शुक्रबार मात्र ४५४ जनामा सङ्क्रमण देखिएको थियो ।

एउटा गाडीमा जनस्वास्थ्यका दुई, स्काउटका दुई र मन्त्रालयका दुई कर्मचारी गई बढी भीड हुने ठाउँमा कोभिड–१९ बाट बच्न र बचाउन जनचेतना जगाउने उनले बताए । कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुरका सबै नगरपालिकामा स्वयम्सेवक परिचालन गरी कोभिड–१९ का बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

उनका अनुसार करीब एक हप्ता स्वयम्सेवकले जनचेतना सम्बन्धी जागरण कार्यक्रम सञ्चालन गरिनेछ । “बढी भीड हुने ठाउँमा स्वयम्सेवक गएर कोभिड–१९ बाट बच्न र बचाउने उपायबारे माइकिङ गर्नेछन्”, उनले बताए, “त्यस्ता ठाउँमा रहेका मानिसलाई मास्क र सानिटाइजर प्रयोग गर्नसमेत सिकाउनेछन् ।”

स्वयम्सेवकले जनस्वास्थ्य प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड–१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्नेछन् । मन्त्रालयले स्वयम्सेवक परिचालनका लागि आवश्यक सहयोग र समन्वय काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

रासस