१९ भाद्र, भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर १० मा एक जना कोरोना संक्रमितको घरमा वडाध्यक्षले ताला लगाइदिएका छन्।
उक्त घरका ४७ वर्षीय पुरूषमा केही दिनअघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको छ ।
घरबेटीलाई संक्रमण देखिएपछि भाडामा बस्ने ५ जनासहित १० जनालाई भित्रै राखेर ताला लगाइएको हो ।
’तीन दिनअघि हामीले स्थानीय, घरबेटी र प्रहरीसँग समन्वय गरेर ताला लगाएका हौं,’ वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले भने
सरकारले संक्रमितको घरपरिवारमा यस्तो अमानवीय काम गर्न कसैलाई अधिकार दिएको छैन । वडाध्यक्ष ह्यौंमिखाले परिवारकै अनुमतिमा ताला लगाएको बताए ।
’ताला लगाउन हुन्न भन्ने कुरा हो । तर त्यस घरमा डेरा गरी बस्नेहरूको ओहोरदोहोर भइरहने भएको हुदाँ स्थानीयवासीको सल्लाहअनुसार त्यस्तो गरिएको बताए ।
केही आकस्मिक काम परे छिमेकीलाई नै चाबी दिइएको उनले
बताए ।
प्रहरीले पनि घरमा ताला लगाउन सहमति दिएको छ ।
’भाडामा बस्ने मान्छेहरू पनि छन् निस्किरहन सक्छन् भनेर घरबेटीले नै अनुरोध गरेपछि ताला लगाइएको हो,’ महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डिएसपी दीपक गिरीले बताएका छन् ।