कर्फ्युका बीच मै रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चल्दै

१९ भाद्र, काठमाण्डौ । हिजो भएको झडपपछि त्यसको सम्भाव्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ ।

हिजो बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न आज शुक्रबार क्षमापूजा गरिएको हो ।

आज ललितपुुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरे सीमित व्यक्ति उपस्थित भएर शुक्रबार क्षमापूजा गर्ने र संक्षिप्त विधिबाट मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने सहमति भएको बैठकमा सहभागी गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिएका छन् ।

उनका अनुसार २२ गते ज्योतिषले साइत हेरेपछि शुभ साइतमा मत्स्येन्द्रनाथलाई सिधै बुङ्ममती पु¥याउने सहमति भएको छ ।